मानिसको जीवन अनिश्चित छ । महिलाको झनै अनिश्चित रहेछ । रामेछापको चिसापानी गाउँपालिकामा जन्मिए पनि बुबा धनुषा सरे पछि मेरो पनि बाल्यकाल धनुषामै बित्यो । बुबा जनकपुर चुरोट कारखानामा काम गर्नुहुन्थ्यो । म धनुषाको गाउँमा पढ्न जान्थें । दश पास भए पछि प्लस टु पढ्न जनकपुर जानुपर्ने भयो । २०५६ सालमा बल्ल बल्ल प्लस टु सकाएँ । त्यसपछि के गर्ने भनेर सोच्नै पाएकी थिइनँ, घरबाट बिहे गराई मलाई हेटौंडा पठाए । बिहे हुँदा भर्खर १९ की थिएँ ।
घरमा म परिवारकी जेठी छोरी थिएँ । बिहे पछि बुहारी पनि जेठी नै भएँ । जेठी बुहारी भएपछि संयुक्त परिवारमा जिम्मेवारी पनि अधिक हुने रहेछ । सासू-ससुरा मात्र होइन, अजी (हजुरआमा) समेत नौ जना परिवारको घर थियो । त्यसमाथि अलिकति खेत पनि थियो । श्रीमान् एउटा सानो प्राइभेट कम्पनीमा काम गर्नुहुन्थ्यो । बिहे लगत्तै हाम्रा दुई सन्तान पनि भए । यी सबैलाई सँभाल्न म यति धेरै व्यस्त भएँ की त्यो व्यवहारिक चक्करमा म आफै पनि बेपत्ता हराएँ । जहाँ म आफै हराएको छु, त्यहाँ मेरा सपनाहरू भेटिनु असम्भव थियो । सपना पनि के भनूँ, प्लस टु सकाएर नर्सिङ पढ्छु भन्ने सानो धोको थियो । तर त्यो धोको भाग्यमा लेखिएको रहेनछ । राम्रो काम गरुँ, पढाइले साथ दिएन । पढाइ अगाडि बढाउँ पारिवारिक वातावरणले साथ दिएन । मात्र १२ कक्षाको पढाइ राम्रो जागिरको लागि पर्याप्त थिएन ।परिवार संख्या बढेपछि श्रीमान्को सानो जागिरले मात्र ठेग्न नसक्ने हुँदै जान थाल्यो । त्यसैले म एउटा निजी स्कुलमा पठाउन थालें । तर अंग्रेजी कमजोर भएकोले पढाउन सजिलो थिएन । बरु घरमै बसी धूप बाट्नु सजिलो थियो । त्यसबाट केही पैसा पनि हात लाग्थ्यो । त्यो काम मलाई घरमा अजी र नन्द बहिनी गंगाले सिकाइदिनुभएको थियो । म केही समय त्यसमै लागें ।
यही क्रममा मैले छिमेकीबाट थाहा पाएँ, हेटौंडामा काठको हस्तकलासम्बन्धी सीप सिकाउने तालिम हुन लागेको रहेछ । कस्तो तालिम रहेछ भनेर म बुझ्न गएँ । काठको काम आफूले त कहिल्यै गरेको थिइनँ । तर तालिम लिएपछि सीप सिकिन्छ र काम जानिन्छ, त्यसपछि रोजगारी पनि हुन्छ भनेकोले अलिकति इच्छा जाग्यो । अब जे पर्ला पर्ला, तालिम लिएर केही बिग्रन्न भन्ने सोचेर निवेदन हालें । पिप्लेपोखरा सामुदायिक वन, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ बाट म पनि छनौट भएँ । शुरुमा छ महिनाको आधारभूत तालिम लिनुपर्ने रहेछ । त्यो पूरा गरें । त्यसपछि फेरि तीन महिनाको एडभान्स तालिम शुरु भयो । त्यसमा पनि म सहभागी भएँ । एडभान्स तालिम भने सहभागी सबैले पूरा नगर्ने रहेछ । सबैका आआफ्नै समस्या हुन्छन् । कसैको पढाइमा बाधा हुन थाल्यो, कसैको घरव्यवहार बढ्न थाल्यो, कोही बिहे भएर टाढा गए । एडभान्स कोर्समा ठूलो ठूलो काठ पनि बोकेर मेसिनमा हाल्नुपर्ने रहेछ । कति जनाले त काठ बोक्न नसकेर पनि तालिम छोडे । त्यस्तै समस्याहरू मलाई पनि नआएको होइन । तर म गर्छु नै भनेर लागेको लाग्यै भएँ । अन्तिममा तालिम सकिँदा ५० जनामा हामी ३० जना मात्रै बाँकी भयौँ ।यही ३० जना मिलेर काम शुरु गर्नुपर्छ भनेर २०७४ सालमा हामीले संस्था दर्ता गौँ । तर त्यहाँ पनि सबैजना टिक्न सकेनन् । बीच बीचमा एक एक जना गर्दै छोड्दै जान थाले । ०७७ साल पुग्दा नौ जना बाँकी भयौँ । त्यसमा पनि कोही बिहेवारी, कोही टाढा भयो भन्दै छोड्दै गए । अन्तमा बाँकी भयो जम्मा दुई जना, म र विष्णु । उहाँ अध्यक्ष हुनुहुन्थ्यो, म कोषाध्यक्ष थिएँ । तर दुई जनाले संस्था चलाउन त सम्भव थिएन । यस्तो अवस्थामा हामीलाई अस्मिता नेपालले प्राणवायु बनेर साथ दिनुभयो । हाम्रो लागि एक्लो भरोसा उहाँ नै हुनुभयो । साथै फेकोफनबाट पनि सहयोग प्राप्त भयो । हामीले उत्पादन गरेका काठका फ्रेमहरू उहाँहरूले खरिद गरिदिनुभयो । उहाँहरूको कार्यक्रम हुँदा पनि हाम्रै काठको फ्रेम उपहार दिने गर्नुहुन्थ्यो । साथै हामीले बनाएका फ्रेमहरू काठमाडौं पठाउन पनि उहाँहरूले धेरै सहयोग गर्नुभयो । काठमाडौंको बजार बेग्लै प्रकारको थियो । त्यसैले उहाँहरूले हामीलाई काठमाडौंमै बोलाएर अर्को तालिम पनि दिनुभयो । खास गरी काठमाडौंमा प्रचलित मसिना बुट्टाहरू बनाउने तालिम हामीलाई दिइएको थियो । त्यो तालिम पाएपछि हाम्रो क्षमता अझै बढ्यो । साथमा हाम्रो व्यापार पनि विस्तार हुँदै जान थाल्यो ।
हामीले काठमाडौंमा तालिम मात्रै लिएनौं, त्यहाँको बजार घुमेर त्यहाँ कस्ता कस्ता बुट्टाहरू मन पराइन्छ, कहाँ कहाँ बिक्री हुन्छ, त्यसको बजार भाउ कस्तो छ भन्ने कुराको पनि अवलोकन गौँ । यसले हाम्रो ज्ञानको ढोका अझै परसम्म खोलिदियो । तर जति जाने पनि जान्नुपर्ने कुरा भने बाँकी नै हुने रहेछ । यसको केही समयपछि हामीलाई फिनिसिङसम्बन्धी कामको पनि छुट्टै तालिम दिइयो, १५ दिनको । यस्ता विभिन्न प्रकारका तालिम, अनुभव र सक्रियताका कारण हामीले पहिलेभन्दा फरक खालका उत्पादनहरू गर्न सक्यौँ । हामीले फ्रेम मात्र होइन, मायाको चिनो स्वरुप प्रदान गरिने नेपालको नक्सा, ठूलो आकारको फ्रेम आदि पनि बनायौँ । सामान मात्र होइन, हामीलाई त्यस्तो सामान बनाउने मेशिन चाहियो भनेर मेशिनको समेत अर्डर आउन थाल्यो । अब मेशिन कसरी बनाउने हो ? हामीले एक आपसमा छलफल गर्यौँ । तर साथीहरूले आँट गरे । हामीले मेशिन पनि बनायौँ र बेच्न थाल्यौँ । हामीले अर्डर आए अनुसार सिलाई मेशिन पनि बनाएर पठायौँ । यसले हाम्रो व्यापार अझै बढाइदियो । व्यापार बढेपछि आम्दानी नबढ्ने कुरै भएन ।अहिले हाम्रो उत्पादन नेपाल मात्र होइन, भारत, बंगलादेश र थाइल्याण्डको बजारमा पनि पुग्ने गरेको छ ।
बजार बढे सँगै काम पनि बढ्यो, तर काम गर्ने मान्छेको भने कमी हुन थाल्यो । यसमा जो पायो उसलाई काम दिने हुँदैन । सीप जानेकोलाई मात्रै काम दिने हो । उसोभए अब जनशक्ति पनि उत्पादन गरौं भनेर बिष्णु र म मिलेर नयाँ मान्छेहरूलाई तालिम दिने काम पनि शुरु गर्यौँ । शुरुमा २० जनालाई तालिम दियौँ । तालिम पनि यस्तो कि सीप जान्ने बित्तिक्कै रोजगारी पाइहाल्ने । हामीलाई खुशी पनि लाग्यो । कुनै बेला हामी आफै काम खोज्न भौंतारिरहेका हुन्थ्यौँ । आज अरुलाई काम दिन तालिम सञ्चालन गर्न सक्ने भयौँ । हामीले प्रारम्भदेखि नै तालिम लिएका कारण त्यतिबेला हामीले लिएको तालिम अलि लामो खालको थियो । तर अहिले तत्कालै काम गर्नुपर्ने भएकोले हामीले दुई महिनामै सिक्न सक्ने गरी तालिम दियौं । हामी काम दिलाउन मात्र होइन, काम सिकाउन पनि सक्ने अवस्थामा पुगिसकेका रहेछौँ । त्यो सम्झेर हामीलाई औधी खुशीको अनुभव भयो । २०८० सालमा हामीले तालिम शुरु गरेका थियौँ । शुरुमा २० जनालाई तालिम दिएकोमा पछि सात आठजना मात्र बाँकी भयो । त्यो पनि राम्रै हो ।तर यसमा एउटा समस्या आइदियो । तालिम दिइसकेपछि प्रशिक्षार्थीहरूलाई तालिमको प्रमाणपत्र पनि दिनुपर्ने हुन्छ । हामी त त्यस्तो तालिम दिने संस्था होइनौं । त्यसैले अब हामी आफ्नो संस्थालाई तालिमको प्रमाणपत्र समेत दिन योग्य निकाय बनाउने तयारीमा लागेका छौँ । यसको लागि सिटिभिटीको अनुमति चाहिने रहेछ । त्यसको लागि प्रक्रिया शुरु गरिसकेका छौं । यो भनेको हाम्रो संस्थाको एउटा अर्को चरणको उन्नति हो ।
अहिले हामीले यो संस्थाबाट जे गरिरहेका छौं, हाम्रो लागि प्रशस्त छ । काम राम्रो हुँदै गएपछि घर परिवार र छरछिमेकीले हेर्ने दृष्टिकोण पनि बदलिएको छ । पहिले पहिले घरमा मेरो कामलाई मन पराएको थिएन । धूलो उड्ने, हात फोहोर हुने काम भनिन्थ्यो । १२ पास गरेको मान्छे किन यो काम गरेकी पनि भन्थे । मैले ती सबै कुराहरूलाई पचाएर यसमा लागें । कतिपय साथीहरूले बीचमै छोडेर जाँदा मलाई पनि के हो के हो जस्तो त लागेको थियो । तर मैले चित्तलाई विचलित हुन दिइनँ । अहिले कामले यति फुर्सद हुन्न कि त्यतिबेलाको कुरा सोच्न पनि पाउँदिन । वास्तवमा वन जंगल भनेको केवल रुखपात मात्र होइन रहेछ भन्ने कुरा म यतिबेला आएर बुझ्दैछु । वनले मानिसलाई आय आर्जन गर्ने बाटो पनि दिँदो रहेछ । त्यसैले मलाई त लाग्छ, वन भनेको जीवन नै हो । वनकै कारणले आज मेरो जीवनमा परिवर्तन आएको छ । म हिजो जस्तै धूप बाटेर बसेको भए वा स्कुलमा पढाएर बसेको भए केही आय आर्जन त हुन्थ्यो होला तर आजको जस्तो पहिचान हुँदैन थियो ।
अहिले म वन पैदावारमा आधारित एक उद्यमी बनेकी छु । आर्थिक अवस्था सुधिएको छ । छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सकेकी छु । आफ्नो मात्र होइन अरु पनि धेरै दिदीबहिनीहरूलाई रोजगारी दिन सफल भएकी छु । काम नपाएर बेरोजगार भएका बहिनीहरूलाई तालिम दिएर रोजगार दिन सक्ने भएकी छु । यसमा मैले घमण्ड गरेकी होइन । गर्व गरेकी हुँ । अहिले मलाई प्रशिक्षकका रूपमा समेत धेरैले चिन्छन् । बेला बेला तालिम चलाउँछु, भ्रमणमा गइरहन्छु । श्रीमानबाट सम्मान पाउन सकेकी छु । पहिले पहिले म घरमा कार्यालयसम्म हिँडेर आउँथें । अहिले श्रीमान्ले पुऱ्याइदिनुहुन्छ । बिहान उठेदेखि बेलुकी ९-१० बजेसम्म काम गरिरहेकी हुन्छु । दायाँबायाँ हेर्ने, गफ गरी बस्ने फुर्सद मसँग छैन । आफन्तहरू समेत ‘अहिले त राधिकालाई भेट्नै गाह्रो’ भन्छन् । हामी अहिले आफ्नो कामलाई अझै विस्तार गर्दै ठूलै उद्योगको रुपमा अगाडि बढाउने लक्ष्यका साथ अघि बढिरहेका छौं ।
मैले आफूले जीवनमा भोगेका अनुभव र गरेका मेहनतका आधारमा हाम्रा दिदी बहिनीहरुलाई के भन्न चाहन्छु भने कमाउनका लागि उहाँहरू विदेश जानुपर्छ भन्ने छैन । यदि सीप सिक्ने हो भने प्रशस्त आम्दानी हुने काम यहीं छ । पहिले पहिले घरमा एक जनाको कमाइले पाँच सात जना आश्रित हुन पर्दथ्यो । अहिले प्रत्येक व्यक्तिले कमाउन सक्ने भएको छ । विदेश गए पनि मेहनत नगरी कमाउन सकिँदैन । त्यो मेहनत यहाँ गर्ने हो भने सम्पत्ति मात्र होइन इज्जत पनि कमाउन सकिन्छ ।

