चितवनको एक निम्न मध्यमवर्गीय गुरुङ परिवारमा मेरो जन्म भएको हो । बुबाले मेरो दाजु र भाइलाई सरकारी स्कुलमा पढाएर मलाई बोर्डिङमा पढाउनुभएको थियो । छोरी मान्छेले पनि केही गरी देखाओस् भन्ने बुबा र आमाको इच्छा थियो । सरकारी स्कुलमा पढ्ने मेरा अरु साथीहरू अक्सर घुम्न गइरहेका हुन्थे । तर बोर्डिङ स्कुलमा धेरै बिदा नहुने भएकोले म जान पाउँदिन थिएँ । त्यसमाथि बुबाको पनि ममाथि कडा निगरानी हुन्थ्यो । बुबा-आमाको इच्छा अनुसार म पढाइमा पनि अगाडि नै थिएँ । साथीहरू बीचमै पढाइ छोडेर जाँदा पनि मैले छोडेकी थिइनँ । एसईई पनि मैले राम्ररी नै पास गरेँ । मेरो गाउँ (गाउँको नाम के ?) मा एसईई पास गर्ने पहिलो छात्रा नै म थिएँ भनेर हल्ला भएको थियो । मैले एसईई पास गर्दा बुबा-आमा पनि साहै खुशी हुनुभएको थियो । त्यसपछि प्लस टु पनि राम्ररी नै पढ्न पाएँ ।
प्लस टु पढिरहँदै एउटा केटासँग मेरो प्रेम भयो । उनी हाम्रै छिमेकी दिदीको घरमा आउने गर्थे । त्यहाँ उसको दाइ पर्नेको ससुराली रहेछ । दाइको ससुराली आउँदा आउँदै उनको र मेरो परिचय भयो । हाम्रो प्रेम भएको कुरा मैले घरमा बताउन सकेको थिइन । बाह्र कक्षाको जाँच सकिए लगत्तै म उनीसँग भागेर आएँ । बुद्धि थिएन, भागेर बिहे गर्नु गल्ती भयो । किनभने यसले मेरो बुबा-आमालाई निकै ठेस पुग्यो । बोर्डिङ पढाएकी छोरी त्यसरी भागेर जाला भन्ने उहाँहरूले सोच्नुभएको थिएन । उता भागेर गएको घरमा पनि मलाई सुख मिलेन । जातले उहाँ पनि गुरुङ नै हुनुहुन्थ्यो । तर काम थिएन । अल्लारे हुनुहुन्थ्यो । बिहे पछि घरको जम्मै काम मैले गर्नुपर्ने भयो । खेतपाती हेर्नुपर्ने, बारीमा काम गर्नुपर्ने, घर सँभाल्नुपर्ने । सासू ससुरा पनि घरको काम भनेको बुहारीले नै गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । सानै उमेरमा धेरै दुःख पाइयो ।
बिहे पछि बाह्न कक्षाको नतिजा आयो । म राम्रै नम्बरले पास भएछु । अब ब्याचलर भर्ना भएर थप पढ्छु भनेर योजना बनाएँ । तर सासू ससुराले पढ्न पठाउनु भएन । बुहारी मान्छेले कहाँ पढ्ने हो र भन्न थाल्नुभयो । उता श्रीमान बेरोजगार, उनले पढाउने कुरै भएन । आफूसँग कुनै आम्दानी भएको होइन । म त खङ्गरंगै भएँ । कहाँबाट नर्कमा झर्न पुगेछु भने लाग्यो । त्यसमाथि बच्चा भएपछि मेरो जीवन साँच्चै नर्कै जस्तो भयो । न राम्ररी खाना पाउनु, न विरामी हुँदा औषधी पाउनु । म दुब्लाएर सिकुटे जस्तै भएछु । माइती जाँदा मेरो रुप देखेर आमा-बुबा दुवै निराश हुनुभयो । उहाँहरू त गाउँभरि पढेलेखेकी छोरीले दुःख पाई भनेर बिलौना गर्दै हिँड्नुभएको रहेछ । उहाँहरूलाई खुशी पार्नकै लागि भए पनि अब केही गर्नुपर्छ भन्ने भावना मभित्र उत्पन्न हुन थाल्यो । त्यसपछि महिनाको पन्ध्र सय मात्रै आउने भए पनि एउटा जागिर खानुपर्छ भन्ने सोचेर म काम खोज्न हिँडे । घर नजिकै एउटा स्कुल थियो । त्यहाँ महिनाको २४ सय पाउने गरी काम पाएँ । त्यसपछि मलाई अलिकति सजिलो भयो । बच्चाको लागि कसैसँग माग्न जान परेन । मैले काम गरेको देखेपछि श्रीमान पनि एउटा व्यवसायतर्फ लाग्नुभयो । झनै सहज हुन थाल्यो ।
भनिन्छ, एउटा काम शुरु गरेपछि त्यसले अर्को काम तान्छ । मलाई पनि त्यस्तै भयो । स्कुलमा काम गरिरहेकै बेला एउटा अर्को कामको जिम्मेवारी ममाथि आइपर्यो । घर नजिकै एउटा सामुदायिक वन थियो । बचत पनि संकलन भइसकेको थियो । त्यहाँ काम गर्ने दिदी बहिनीहरूलाई हिसाब गर्न गाह्रो भयो भनेर मेरो सहयोग माग्न आए । मैले आफूले सक्दो सहयोग गरेँ । पछि सहयोग मात्र गरेर पुगेन, अब त्यसको अध्यक्ष नै बसिदिनुपर्यो भनेर आग्रह गर्न थाले । नाइँ भन्नै सकिन । म त्यसको अध्यक्ष भएँ । तर त्यो संस्था दर्ता भएको थिएन । काम गर्ने हो भने संस्था दर्ता नै गर्नुपर्छ भनेर हामी संस्था दर्ताको लागि नगरपालिका गयौँ । तर संस्था दर्ता गर्न धेरै झंझट थियो । के के कागजात चाहिन्छ भन्न थाल्यो जो हामीसँग थिएन । नगरपालिका जाँदा हामीले एउटा कुरा थाहा पायौँ, त्यहाँ कंचनजंघा कृषि सहकारी नामको संस्था दर्ता भएर पनि त्यतिकै निष्क्रिय भएर बसेको रहेछ । यदि कामै गर्ने हो भने त्यसलाई नै सक्रिय गर्न सकिन्छ भन्ने सुनियो । त्यो सुनेर हामी त्यसका अध्यक्ष (नाम के हो ?) लाई भेट्न गयौँ । हाम्रो प्रस्तावलाई उहाँले सहर्ष स्वीकार गरी नयाँ कार्यसमिति बनाएर चलाउनू भन्नुभयो । त्यसपछि हामी महिला मात्रै बसेर १३ जनाको नयाँ कार्यसमिति बनायौँ । म त्यसको अध्यक्ष भएँ ।
संस्था त दर्ता भयो, अब चलाउने कसरी? लगानी चाहियो, कार्यक्रम चाहियो, जान्ने मान्छे चाहियो । त्यसमाथि हामीलाई पुरुषले त चलाउन नसकेर बन्द भएको सहकारी तिमीहरू आइमाई भएर चलाउने भनेर खिसि गर्नेहरू पनि थिए । हामीले धेरैजनासँग सल्लाह । सुझाव माग्यौँ । अब सहयोगको लागि नगरपालिकालाई गुहार्ने भन्ने भयो । हामी संस्थाको माइन्युटै बोकेर नगरपालिकाको कार्यालय गयौँ । कुराकानी भयो । त्यहाँ हामीलाई गुन्द्रुक उत्पादन गर्ने हो भने सहयोग गछौँ भन्ने आश्वासन दिइयो । गुन्द्रुक त हामीले घर घरमै बनाइरहेको कुरा हो । नसकिने कुरै भएन । तर नगरपालिकाको सहयोग लिनलाई शुरुमा हामी आफैले पनि लगानी गर्नुपर्छ भन्ने कुरा भयो । त्यसपछि हामीले ११ जना दिदीबहिनीहरूको समूह बनायौँ । अनि घरमै बसेर अर्गानिक गुन्द्रुक उत्पादन गर्न थाल्यौँ । शुरुमा गाहै भएको थियो । तर काम गर्दै गएपछि अरु संघसंस्थाहरूले पनि थाहा पाउँदै गए । उहाँहरू हाम्रो काम हेर्न आउनुभयो । त्यसरी आउने क्रममा ग्रीन फाउण्डेसनका राधा दिदीले हामीलाई सहयोग पनि गर्ने बचन दिनुभयो । यो २०८० सालतिरको कुरा हो । हाम्रो मेहनत र उद्यमशीलता देखेर उहाँले सम्झौता गरी नेतृत्व विकास सम्बन्धी तालिम दिनुभयो । त्यसमा खास गरी आफ्नो उत्पादनलाई कसरी बजारमा लाने, कसरी बिक्री वितरण गर्ने, व्यावसायिक उत्पादन कसरी गर्ने भन्ने कुराहरू सिकाइएको थियो । साथै हामीलाई काम गर्न आवश्यक केही सामग्रीहरू पनि हस्तान्तरण गर्नुभयो । त्यहाँ हामीले उत्पादन मात्र होइन बजारीकरणको कुरा पनि थाहा पायौँ । यो तालिम पछि हाम्रो मनोबल अझै बढ्यो ।
त्यसपछि हामी गुन्द्रुकको व्यवसायिक उत्पादन गर्नतिर लाग्यौँ । त्यो उत्पादक समूहको अध्यक्ष पनि मलाई नै बनाइयो । केही केही पढेको र सहकारीको अध्यक्ष पनि भएको नाताले मलाई अध्यक्ष बनाएको थियो । तर साथ सहयोग चाहिँ सबैबाट प्राप्त भयो । हामीले गुन्द्रुक उत्पादन गरेपछि विभिन्न व्यापारिक प्रदर्शनीहरूमा लान थाल्यौँ । त्यहाँ ग्राहकहरूसँग कुरा गर्दा गर्दा हामीलाई पनि आफ्नो सामान बिकाउन सजिलो हुँदै जान थाल्यो । विभिन्न होटल, रेष्टुराँहरूले हाम्रो गुन्द्रुक किन्न थाल्यो । अहिले हेटौंडाका छ सात वटा होटलहरूले नियमित रुपमै हाम्रो उत्पादन लिने गरेका छन् । केही सामान काठमाडौं पनि जान्छ । गुन्द्रुकको माग धेरै हुन थालेको छ । तर हामीले माग अनुसार बनाउन सकिरहेका छैनौँ । शुरुमा हामीलाई जाबो गुन्द्रुक कसले किनेर खान्छ र भन्ने लागेको थियो । गुन्द्रुक बिक्री हुँदैन बरु सागै बेच्ने काम गरौं कि भन्ने पनि सोचेका थियौँ । तर त्यस्तो भएन । अहिले माग धेरै भएर नियमित ग्राहकलाई प्राथमिकतामा राखेर उत्पादन गरिरहेका छौँ । बरु अहिले काठमाडौं पठाउन बन्द गरेका छौँ ।
अहिले हामीले गुन्द्रुक उत्पादन गर्न महिला समूहमा कामको विभाजन गरेका छौं । बिउ राख्ने, उमारेपछिको रेखदेख गर्ने, टिप्ने, सफा गर्ने, गुन्द्रुक हाल्ने बेलासम्मको सबै काम छुट्टाछुट्टै समूहले गर्छ । यो काम गर्न हामीलाई नगरपालिकाबाट आउनुभएका महिला सहकर्मीले सिकाउनुभएको थियो । पहिले पहिले त गुन्द्रुक बनाउँदा पीठो होलेर गाड्ने चलन थियो । तर अहिले त्यसरी बनाएर हुँदैन । बजारमा जाने भएकोले त्यसको खाद्य गुणस्तरिता पनि कायम गर्नुपर्छ । बनाइसकेपछि जाँच गराउनु पर्छ । हामीले बनाएको गुन्द्रुकमा रौं, माटो जस्तो कुरा मिसिएको हुँदैन । सफाइमा एकदमै ध्यान दिन्छौँ । गुन्द्रुक नेपालको राष्ट्रिय खाना अन्तर्गत नै पर्ने खाद्यान्न भनिन्छ । यो स्वास्थ्यवर्द्धक पनि छ । खाएको कुरा पचाउन मद्दत गर्छ । त्यसकारण खानामा गुन्द्रुकको अचार राख्ने चलन छ । गुन्द्रुकबारे राम्ररी अध्ययन गरेर यसको राम्रो पक्षबारे पनि प्रचार प्रसार गर्नुपर्छ भन्ने मलाई लाग्छ । अहिले हामी मुलाको पनि गुन्द्रुक बनाउँछौं । सिन्की पनि बनाउँछौँ । यी सबै कामहरू पहिले पहिले बुबाआमाले घरमै गरेको हामीले देख्दै आएका हौं । काम गर्ने तरिका अलिकति फरक भएको छ । पहिले पहिले पीठो हालेर बनाउने भएकोले गुन्द्रुक धेरै समय टिक्दैन थियो । पीठो हालेकोले किरा पनि पर्दथ्यो । एक वर्षभन्दा बढी टिक्दैनथ्यो । अहिले त हामी गुन्द्रुक हाल्नुभन्दा अघि सागलाई राम्रोसँग पानीले सफा गछौँ । त्यसपछि ठूलो ड्रमलाई सफा गरेर राख्छौँ । यसरी बनाएको गुन्द्रुक एक डेढ वर्षसम्म टिक्छ । पहिले बोरामा राखिने भएकोले हावा पस्थ्यो । अहिले हामी ड्रममा राख्ने भएकोले किरा पनि पर्दैन, लामो समय टिक्छ । तयार भएको गुन्द्रुक बजार पठाउनु अघि हेटौडामा लगेर गुणस्तर चेक गराउनुपर्छ । शुरुमा त गुन्द्रुक बेच्न पनि कति लाज हुन्थ्यो हामीलाई । ‘गुन्द्रुक बेच्न आएको ?’ भनेर खिसि गरिन्थ्यो । जब व्यापार बढ्न थाल्यो, पैसा कमाउन थालियो, त्यसपछि डर लाज केही भएन । गुन्द्रुक बनाउने दिदीबहिनीहरू पहिले कोही बोल्न आउँदा लाजले भाग्नुहुन्थ्यो । अहिले निर्धक्क बोल्न सक्ने भएका छन् । आधुनिक प्रविधि भएको भए हामीले अझै उत्पादन गर्न सक्थ्यौँ । साग उत्पादन गर्ने जग्गा पनि कम छ । उन्नत जातको रायोको सागको बिउ पाए अझ बढाउन सकिन्छ । हामीसँग अहिले यसको कमी छ ।
गुन्द्रुक व्यवसायमा लागेर अहिले हाम्रो आर्थिक र सामाजिक अवस्थामा पनि धेरै परिवर्तन आएको छ । म पहिले जस्तो शिक्षकै मात्र भइरहेको भए यति प्रगति गर्न सकिदैनथ्यो । पढाउन त म अहिले पनि श्री विष्णुज्योति स्कुलमा अस्थायी रुपमा पढाइरहेकी छु । तर मेरो पहिचान शिक्षकभन्दा पनि महिला उद्यमीका रूपमा बढी छ । मैले जानेको काम गर्न अलिकति अगाडि बढेकीले धेरै दिदी बहिनीहरूले काम गर्न पाइरहनुभएको छ । मलाई यसमा धेरै खुशी लाग्छ । सानोतिनो कामको लागि अहिले उहाँहरू कसैले पनि घरमा कसैका सामु हात फैलाउनु परेको छैन ।
म अहिले हरेक दिन बिहान बच्चालाई स्कुल पठाइसकेपछि आफ्नो काम शुरु गर्छु । बिहानीको काम सकेपछि म तीन बजेपछि बारीमा जाने हो । त्यहाँबाट निस्कँदा चाहिँ कहिलेकाहीं राति सात बज्छ । हामी आलोपालो बारीमा समय दिन्छौँ । मेरो काममा उहाँले पनि सघाउनुहुन्छ । सासु ससुरा पनि अहिले धेरै बदलिसक्नुभएको छ । मेरो बारे राम्रो कुरा भएको उहाँहरू बाहिर बाहिर पनि सुन्नुहुन्छ, अनि खुशी हुनुहुन्छ । शरीरलाई धपेडी हुने गरी धेरै काम नगर भन्नुहुन्छ ।

