तनहुँको आँबुखैरनीमा बुबा लालबहादुर गुरुङ र आमा कौशिला गुरुङको कोखबाट मेरो जन्म भएको हो । हाम्रो परिवार त सामान्य नै थियो तर घरमा हामी दश दाजुभाइ थियौं । आमाबुबाका दश छोराछोरी मध्ये म सातौं नम्बरकी सन्तान थिएँ । सन्तान धेरै भएकोले घर चलाउन गाह्रो थियो । हामीलाई हुर्काउन पनि आमाबालाई कष्ट परेको थियो । बुबा भारततिर काम गर्न जानुहुन्थ्यो । तर भारत गएपछि धेरै वर्ष नफर्किने । फर्के पनि केही समय बस्ने, फेरि जाने गर्नुहुन्थ्यो । पछिल्लो पटक उहाँ भारत गएर फर्कनै भएन । त्यहाँ उहाँको अवस्था के कस्तो छ, अब हामीलाई केही थाहा छैन । बुबा नभएको कारणले घरको जम्मै बोझ आमालाई थियो । तै पनि मभन्दा माथि चार दाजुहरू भएकोले काममा सघाउनुहुन्थ्यो । मैले पनि घरको काम खासै गर्नु परेन । आमा मुखियाकी छोरी हुनुहुन्थ्यो । त्यसैले उहाँलाई माइतीबाट पनि अलि अलि सहयोग भइरहन्थ्यो तर त्यो पर्याप्त थिएन । दाजुहरूले आफूले मेहनत गरेर भए पनि हामी भाइ बहिनीहरूलाई पढाउन चाहनुहुन्थ्यो । मलाई गाउँकै एउटा स्कुलमा भर्ना गरिएको थियो । तर स्कुल पुग्न घरबाट दुई घन्टा हिँड्नुपथ्र्यो । जान गाह्रो भएकोले मैले तीन कक्षा पछि पढ्न छोडें । दाजुहरूले कर गरेकाले चार कक्षा छोडेर पाँचदेखि फेरि पढाइ शुरु गरें, स्थानीय रामशाह स्कुलमा । दाजुहरूकै सहयोगले बाह्र कक्षासम्म पढ्न म सफल भएँ । बाह्नमा एउटा विषय लागेपछि पढाइ छोडें । पछि दाजुहरू पनि काम गर्न भन्दै भारततिर जानुभयो । आमा हेल्थ पोष्टमा सुँडेनी काम पनि गर्नुहुन्थ्यो । पछि भाइ पनि एसईई सकाएर विदेश गए । बहिनी छ कक्षा पढ्दापढ्दै बिहे गरेर गइन् । २५ वर्षको उमेरमा हेटौंडामा मेरो बिहे भयो । तर बिहे पछि म अक्सर माइतीमै बस्थें । स्कुल पढाउन पनि छोडेकी थिइन । बिहे पछि माइती बस्न भने गाह्रो हुने रहेछ । घरमा केही नभने पनि बाहिर अनेक कुरा सुन्नुपर्ने । त्यतिबेलासम्म घरमा चार वटी भाउजु पनि आइसकेका थिए । मैले पढाउने स्कुल पनि बन्द भइसक्यो । त्यसैले तीन वर्ष माइती बसेर म आफ्नै घर फर्कें । आमा त अझै नजानू भन्दै हुनुहुन्थ्यो । घर आएर पनि त्यसै बस्न सकिनँ । केही काम गर्नैपर्छ भनेर सिलाइ कटाइको तालिम लिन गएँ । तर अचानक ससुरा बा बितेपछि मेरो तालिम पनि बीचमै टुट्यो । उहाँ बितेपति घरमा १३ दिन किरिया बस्नु पर्ने भयो । १३ दिन जुठो बार्नु पर्दा म तालिममा जान पाइन । यसरी मेरो पढाइ छुट्यो, स्कुलमा पढाउने काम छुट्यो, अहिले सिलाइ पनि छुट्यो । अब गर्ने? घरमा खेतीपातीको काम धेरै थियो । त्यसैले म अब गाई बाख्रा पाल्ने काम गर्छु भन्ने सोचेर त्यसकै तयारी गर्न थालें । तर ससुरा बितेपछि घरमा अंशबण्डाको कुरा चल्न थाल्यो । म आएको एक वर्षमै दाजुभाइ छुट्टिए । चार दाजुभाइ हुनुहुन्थ्यो । मेरो भागमा एउटा बाखा र एउटा भैंसी पर्न आयो । मलाई धेरै वर्ष बच्चा नबस्ने समस्या भइरहेको थियो । त्यही वर्ष पेटमा बच्चा पनि बस्यो । कुरा त खुशीको थियो तर व्यवहारमा भने समस्या आइपर्यो । मेरो श्रीमान् सेनामा काम गर्नुहुन्थ्यो । उहाँको पोष्टिङ नेपालगञ्जमा थियो । यता दाजुभाइ पनि छुट्टिएर बस्न थालेपछि म घरमा एक्लै परें । बिहेको पाँच वर्षपछि गर्भ बसेको भएर डाक्टरले गाह्रो काम केही नगर्नु भनेको थियो । अब यस्तो अवस्थामा गर्भको बच्चालाई स्याहार गरूँ कि अंशबण्डामा आएको बाखा र भैंसी पालेर बसुँ? मलाई निकै दोमन भयो । यस्तो अवस्था हुँदा पनि आफ्नो भागमा परेको भैंसी र बाखा बेच्न भने मलाई मन लागेन । तर माया लागे पनि पाल्न पनि सकिँदैनथ्यो । त्यसैले आफूले घाँस काट्ने र अरुले बोक्ने गरेर पनि केही समय काम गरेँ । सासुलाई भनेर हुन्छ कि, देउरानी जेठानीलाई भनेर हुन्छ कि, वा पैसा नै दिएर भए पनि म घाँस अरुलाई बोक्न लगाउँथें । बच्चा पेटमा हुँदै गर्दा यता बाखा पनि पाँच छ वटा भयो । बल्ल बल्ल त्यो पनि हुर्काएँ । पछि खसी बेचें । माउ चाहिँ बेच्नै सकिनँ, माया लागेर । केही समय पछि म पनि सुत्केरी भएँ । सुत्केरी भएपछि माइत जानुपर्ने भयो । अब माइती जाँदा यो बाखा र गोरुलाई कसले हेर्छ? त्यही भएर गोरु बेचिदिएँ । बाखा चाहिँ पालें । त्यही एउटा बाखाबाट अहिले नौ वटा जति बाखा छ घरमा । हाम्रो माइतीमा जस्तै यहाँ पनि सामुदायिक वन रहेछ । तर त्यसमा मेरो खासै ध्यान गएको थिएन । यहाँ वनमा उमेर गएका सासुहरू मात्र बसेर समुदाय बनाएको रहेछ । एक दिन चिनिया र म कुराकानी हुँदा समूहमा हामी पनि जाउँ न भन्ने सल्लाह भयो । (समूहको नाम के हो? हामी जेठो ससुरा र माइलो ससुराका छोरा बुहारी । शुरुमा हामीलाई पनि समूहमा राख्न बूढी सासुहरूले आनाकानी गर्नुभयो । हामीले समूहमा भएको पैसा खाइदेला कि भनेर चिन्ता परेको रहेछ उहाँहरूलाई । हामीले पैसा खाँदैनौँ बरु अझ बढाउँछौँ भनेर सम्झायौँ । त्यसपछि हामी छ सात जाना बुहारीहरू एकैचोटी प्रवेश गौँ । हामीले सहकारी चलाउने भएपछि दर्ता गर्नुपर्छ भनेर नगरपालिका गयौँ । त्यहाँ काम गर्ने बारे सरसल्लाह हुँदा गुन्द्रुक उत्पादन गर्ने हो कि भनेर सोधियो । मैले त हुन्न भनें । गुन्द्रुकको व्यापार गर्ने कुरा त मैले कहिले सोचेकै थिइन । नगरपालिकाका सरहरूले गुन्द्रुक एकदम चल्छ, अहिले बजारमा चाइनिज गुन्द्रुक समेत बिक्री भइरहेको छ भन्नुभयो । साथै बजारको व्यवस्था आफूले गरिदिने बचन पनि दिनुभयो । त्यसपछि हामी सहमत भयौँ । उहाँहरूले शुरुको पूँजी भनेर एक लाख रुपैयाँ पनि दिनुभयो । त्यसपछि हामीले ११ जना महिलाहरूको एउटा समूह बनायौं । धेरैजसो महिलाहरू आर्थिक रुपले कमजोर, घरमा लोग्नेले जाँडरक्सी खाएर कुटपिट गर्ने, शोषित पीडित थिए । हामीले सबैभन्दा पीडित महिलालाई समूहमा राख्ने काम । ती सबैलाई उद्यमी बनाउने हाम्रो उद्देश्य थियो । काम शुरु गर्ने बेलामा हामीलाई डर लाग्न थाल्यो । केही मानिसहरूले हामीलाई यो गुन्द्रुक हजार रुपैयाँमा पनि बिक्री हुँदैन भनेर तर्साए । यो सुनेर साथीहरू सबै डराए । त्यसैले गुन्द्रुकको लागि उमारेको साग सबै मुठाको पाँच रुपैयाँमा बेचिदियौं । गाउँदेखि बजारसम्म साग लान पनि अटोलाई भाडा तिर्नुपर्छ । हामीले बेचेको सागबाट अटोको भाडा पनि उठेन । हामी त निराशै भयौँ । तै पनि हामीले एक वर्षसम्म साग मात्रै बेचिरह्यौं । तर पछि हामीलाई थाहा भयो, बजारमा जसले हाम्रो साग किनेर लाने हो, उसले त त्यही सागबाट गुन्द्रुक बनाएर बेच्ने रहेछन् । ओहो, हामीले त ठूलो गल्ती पो गरेछौँ भाइ! लौ अब साग बेच्न बन्द गरी गुन्द्रुकै बेचौँ भनेर हामीले गुन्द्रुक बनाउन थाल्यौँ । शुरुमा आठ किलो बनाएर स्टकमा राख्यौँ । त्यसपछि १५ कट्ठा जग्गा पनि भाडामा लियौँ र त्यहाँ साग रोप्न थाल्यौं । शुरुमा नगरपालिकाले पनि हाम्रो गुन्द्रुक किनेर सहयोग गर्यो । त्यसपछि हामी आफै विभिन्न ठाउँमा गुन्द्रुक बच्न गयौँ । होटलहरूले पनि हाम्रो गुन्द्रुक राख्न थाले । अहिले त हाम्रो गुन्द्रुक काठमाडौं लगायत देशका अरु जिल्लाहरूमा पनि पुगेका छन् । हामीले रायोको सागको मात्रै गुन्द्रुक बनाउने गरेका छौँ । तोरीको पनि गुन्द्रुक बनाउने सोचेका थियौँ, तर भाउ चाहिँ उही रहेछ । किलोको चार सय । रायोको साग धेरै समय टिक्छ । राम्रो बिउ चाहिन्छ भनेर पोखराबाट ३० प्याकेट बिउ मगाएर लगाएका छौँ । हामी असोज महिनाबाट खेती शुरु गछौं । अहिले हेटौंडाका होटलहरु, पार्टी प्यालेसहरूबाट अर्डर आउँछ । कतिपय यहीं पनि दुई चार किलो लिन आउँछन् । अब माग बढ्दै आएकोले १५ कट्ठाबाट ३० कट्ठा जग्गा लिने बिचार गरेका छौं । यसमा अरु पनि गरिब, पीडित, श्रीमान्बाट दुःख पाएका महिलाहरूलाई ल्याएर काममा लगाउने हाम्रो सोच छ । कतिपय काम गर्ने महिलाहरूको घरमै गएर पनि हामीले श्रीमान्हरूलाई सम्झाउन गएका छौं । काम गर्ने महिलाहरूले आफै घरखर्च निकाल्ने, बच्चाहरूको लागि आफै खर्च गर्न थालेदेखि श्रीमान् र सासुहरू पनि खुशी भएका छन् । गएको असोज यता हामी ११ जना महिलाले २०-२० हजार रुपैयाँ लिएका छौं । यसमा हामीले काम गर्ने भनेका बिहान बच्चाहरूलाई स्कुल पठाइसकेपछि बचेको समयमा मात्र हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बच्चाहरू स्कुलबाट नफर्कुन्जेल काम गर्ने हो । यो भनेको अरु बेला सुतेर बस्ने समय हो । फुर्सद मिल्यो भने उहाँहरूले अरुको खेतमा पनि गोलभेडा, भन्टा, खुर्सानी रोपेर आय आर्जन गर्न सक्छन् । अहिले हामीसँग ११ जना काम गर्छन्, त्यसलाई छिट्टै २५ जना पुऱ्याउने योजना छ । यसको लागि बजार पनि विस्तार हुनु जरुरी छ । बजार विस्तार गर्न नयाँ योजना बनाएका छौं । सानो सानो प्याकेटको गुन्द्रुक लिएर सबै होटल तथा रेष्टुरेण्टहरूमा जाने र त्यहाँ निःशुल्क हाम्रो गुन्द्रुक चाख्न लगाउने । चाख्नलाई सानो प्याकेट दिने, बेच्दा ठूलो प्याकेट दिने । गुन्द्रुकको साथै हामीले सहकारी पनि चलाइ नै रहेका छौं । यसमा १२० जना सदस्य छन् । तर सहकारी चलाए पनि हामीलाई सबैले गुन्द्रुक व्यवसायी भनेर चिन्छन् । मलाई त ‘गुन्द्रुके बहिनी’ भन्छन् । गुन्द्रुक व्यवसायी भनेर हामीलाई होटल व्यवसायी, नेता र मन्त्रीहरू पनि भेट्न आउँछन् । पहिले पहिले त नयाँ मान्छे भेट्दा कुरा गर्न अप्ठ्यारो लाग्थ्यो । अहिले हामी दिदी बहिनीहरू सबै नै आफ्नो कुरा निर्धक्क राख्ने सक्ने भएका छौं । गुन्द्रुकको माध्यमबाट हामीहरू अहिले अचार, चकटीको पनि व्यापार गछौँ । अझ खुर्सानी, अदुवा, बेसारको बाली पनि लगाउन पाए हाम्रा दिदीबहिनीहरूले अझै आम्दानी गर्न सक्नुहुन्थ्यो । उहाँहरूले वन जंगल र त्यसको आर्थिक महत्व राम्ररी बुझिसक्नुभएको छ । त्यसैले जति जति उहाँहरू यो काममा डुब्नुहुन्छ त्यति त्यति नै वन जंगललाई माया पनि गर्नुहुनेछ ।

