चितवनको गैंडाधाप भन्ने खोलाको सुनसान बगरमा एक गरिब राई बुबा र एक सोझी तामाङनी आमाको कोखबाट मेरो जन्म भयो । त्यो ठाउँमा न हाम्रो कुनै घर थियो, न खेत । बुबा त्यहींकै एक स्थानीय बाहुनको घरमा हली बस्नुभएको थियो । बुबा बाहुनकै खेतमा हलो जोत्नुहुन्थ्यो । आमा बाहिर मेलापात गर्नुहुन्थ्यो । बाहुनले नै दिएको सानो गोठमा हामी बस्थ्यौँ ।२०४१ सालमा मेरो जन्म भयो । २०४८ सालमा आएको बाढीले खोला छेउको हाम्रो गोठ बगायो । म एक कक्षामा भर्ना मात्रै भएकी थिएँ । भेलबाढीले हाम्रो गोठ मात्र होइन, पढ्ने स्कुल र बुबाले काम गर्ने खेत समेत बगाइदियो । हामी एकै रातमा सडकबास भयौँ । पाँच दिन लगातार पानी परिरहेको थियो । हामीसँग खाना समेत केही थिएन । दुई दिन भोकै सुत्यौं । त्यही बेला राहत बाँड्न आएको टोलीले हामीलाई दाल, चामल, नुन, तरकारी र पकाउने केही भाँडाकुँडाहरू पनि दिए । म सानै भएकीले पाउडर दूध र नुहाउने साबुन पनि दिएका थिए । मैले जीवनमै पहिलोचोटी साबुन त्यहाँ देखेकी थिएँ ।
केही समय पछि हामी सडक किनार छोडेर पहिलेकै बगरतिर बस्न थाल्यौँ । स्थिति सामान्य हुँदै थियो । दुई वर्ष पछि २०५० सालमा फेरि ठूलो बाढी आयो । यो बाढी पहिलेको भन्दा ठूलो थियो । हाम्रो भाँडाकुँडा, चामल सबै बगाए । कतिपय मान्छे पनि बगाए । हामीलाई सेनाका जवानहरूले बचाए । हामीलाई एउटा स्कुल भवनको छेउमा त्रिपाल बनाएर राखियो । त्यो वर्ष पनि राहत बाँड्ने टोली आए । हामीलाई खानेकुरा र भाँडाकुँडाहरू दिए । त्यही बेला संयोगवश राहत बाँड्न आएका एक म्याडमको आँखा ममाथि पर्यो । उनले मलाई आफ्नो घरमा काम गर्न राख्ने प्रस्ताव राखिन् । खान बस्न दिने, राम्रा राम्रा कपडा पनि दिने भनेकाले म दंग परें । तर बुबा मान्नुभएन । आमाले अलिकति चिन्ता पोख्नुभयो । तर घरको अवस्था नाजुक थियो । त्यसमाथि बाढीले बस्ने ठाउँ समेत अस्तव्यस्त बनाएको थियो । म भर्खर नौ वर्षकी थिएँ । भोलिको भविष्य समेत सोचेर म ती म्याडमसँग काठमाडौं आएँ ।
काठमाडौंको चक्रपथबाट अलि भित्र घर थियो । घरमा उहाँ र उहाँको छोरा हुनुहुन्थ्यो । त्यहाँ मलाई खान लाउन समस्या थिएन । काम चाहिँ अलि गाहो थियो । दिनभरि भाँडा माझ्ने, सरसफाई गर्ने । महिनाको सय रुपैयाँ तलब तोकियो । त्यतिबेला सय रुपैयाँ पनि ठूलै थियो । तर काम गरेको चार पाँच महिना पछि मेरो हातखुट्टा सुन्निन थाल्यो । गाह्रो भएकोले घर फर्कन पाए हुन्थ्यो जस्तो लाग्यो । तर विरामी मान्छे घर गएर के गर्नु? आमाबुबाले उपचार गर्न सक्दैन । बुबाको काम पनि राम्रो थिएन । बरु यतै बसे उपचार पनि होला, पैसा पनि जम्मा होला । म घर फर्किनँ । त्यही घरमा छ वर्ष काम गरें । बेला बेला बुबा भेट्न आउनुहुन्थ्यो । जम्मै काम घरको कम्पाउण्डभित्रै बसेर गर्ने हो । तर पढाइ चाहिँ गर्न पाइनँ ।१५ वर्षको उमेर भएपछि म घर फर्कें । बुबा आमा पहिलेको ठाउँ छोडेर अर्को डाँडामा सरिसक्नुभएको रहेछ ।
घरमा आमाबुबालाई सघाउन थालें । आफूले पढ्न पाइनँ । भाइबहिनीहरू पढाउन सहयोग गरेँ । उनीहरूले पढेको देखेर मलाई खुशी लाग्थ्यो । यसै बीच एक जना राई नै थर भएको केटासँग मेरो बिहे भयो । तर मेरो दुर्भाग्य, श्रीमान् खराब परेछ । दिनरात कुटपिट गर्न आउँथ्यो । म ऊसँग बस्नै सकिनँ । त्यसैले उसलाई छोडेर मैले दोस्रो बिहे गरेँ । मेरो दोस्रो श्रीमान् वनकरिया समुदायको हुनुहुन्छ । पहिले त उहाँ गाडी चलाउनु हुन्थ्यो । तर ब्लड प्रेसर बढेकोले अहिले काम छोडेर घरमै खेतीपातीको काम गरिरहनुभएको छ ।दश वर्ष अघि म बिहे गरी आउँदा उहाँहरूको घर पनि थिएन । सानो छाप्रो थियो । त्यो पनि पानी चुहिने । छाप्रोमा भयालढोका केही पनि थिएन । सबैजना खुल्लै सुत्नुपथ्र्यो । अहिले जस्तो खेतीपाती पनि थिएन । खानलाई पनि दुःख थियो । तर मेरो सासू ससुरा गरिब भए पनि साह्रै मेहनती हुनुहुन्थ्यो । उहाँहरू दुवै जना बिहानै जंगल गएर खर काटेर ल्याउनुहुन्थ्यो । अनि त्यसलाई सुकाएर बजारमा बेच्न लानुहुन्थ्यो । त्यही पैसाबाट रासन किनेर ल्याउनुहुन्थ्यो । म उहाँहरूलाई सक्दो सघाउँथें ।
एक दिन मैले साबुन बनाउने तालिम शुरु हुन लागेको बारे सुनें । त्यो पनि वनमा पाइने विभिन्न विरुवा प्रयोग गरेर साबुन बनाउने । म तालिममा सहभागी हुन गएँ । पढाइ त मेरो छैन । तर यो तालिमको लागि पढाइ आवश्यक रहेनछ । जंगलमा पाइने तितेपाती, घिउकुमारीबाट साबुन बनाउन सकिने रहेछ । शुरुमा मलाई यो कुरा सुनेर अनौठो लागेको थियो । तर सीप जानेपछि सामान्य हुन थाल्यो । तालिम दिँदा हामीलाई साबुन बनाउने सीप मात्रै सिकाएको होइन । वन जंगलले हामीलाई कति सहयोग गर्छ भन्ने कुरा पनि सिकाइएको थियो । साबुन बनाउन सिकेपछि आम्दानी पनि हुन थाल्यो । जंगल जाँदा घाँस पात पनि टिपेर ल्याउँथें । त्यसपछि घिउकुमारीको बोट पनि घरमै रोप्न थालें । पैसा पनि हातमा आएपछि काम गर्ने जाँगर पनि बढ्न थाल्यो ।
साबुन बनाउन थालेपछि मेरो दैनिक गर्ने काम पनि बदलियो । तितेपाती टिप्न बिहानै जंगल जाने गर्छु । अनि दिउँसो पखाल्न थाल्छु । त्यसपछि साबुन बनाउन थाल्छु । दिनभरि साबुनै मात्र बनाउनु पर्छ भन्ने छैन । साथमा घरको काम पनि गर्न भ्याउँछु । साबुनको लागि अर्डर आइरहन्छ । त्यही अनुसार हामी बनाउँछौँ । काम गर्दै गएपछि मान्छेहरूसँग बोल्न पनि सक्ने भएकी छु । शुरुमा यो तालिम लिन जाँदा मान्छेसँग बोल्न पनि मलाई डर लागेको थियो । त्यहाँ खाना खाँदा मैले खान समेत जानेकी थिइनँ । हेटौंडाको नारायणी मलमा कार्यक्रम भएको थियो । मान्छेहरू काँटा चम्चाले घोचेर खाँदै थिए । मलाई त्यसरी खानै आएन । तर अब त्यस्तो छैन । मिटिङ हुँदा बोल्न सक्ने भएकी छु ।आफूले पढ्न नपाएकीले छोराछोरीलाई खुब कर गरी पढाइरहेकी छु । बच्चाहरू विरामी पर्दा आफ्नै पैसाले उपचार गराउँछु । श्रीमानसँग माग्नु पर्दैन । घरलाई चाहिने सामानहरू आफै किनेर ल्याउँछु । खेतवारीमा राम्रो बिउ किनेर लगाउँछु । यसले खेती पनि राम्रो भएको छ । पहिले बिउ किन्न समेत सापट माग्नु पर्थ्यो । हाम्रो वनकरियाहरूमा दशैं तिहार मान्ने चलन छैन । माघ १ गते संक्रान्ति मनाउने गरिन्छ । त्यो दिन सबैजना जंगल गएर गिट्ठा, भ्याकुर, वन तरुल खोजेर ल्याइन्छ र सँगै बसेर खाइन्छ । रमाइलो हुन्छ । अहिले यो पर्व आउँदा हामी अरु पनि खानेकुरा थपेर खाने गछौं । मेरो आम्दानीले मलाई मात्र होइन, परिवार नै चलाउनलाई सहयोग प्राप्त भएको छ ।
साबुन बनाउने हामी महिला दिदीबहिनीहरूको समूह पनि छ । समूहमा मेल हुन सके अझै राम्रो कमाइ गर्न सकिन्छ जस्तो मलाई लाग्छ । कमाएको जति सबै खर्च गर्नुहुन्न । केही बचत पनि गर्नुपर्छ । भोलि उद्योगलाई चाहिने सामान किन्नु पर्ला, फर्मा बिग्रियो भने नयाँ ल्याउनु पर्ला, भाँडाहरू प्वाल परे नयाँ बनाउनु पर्ला । यसको लागि पनि सामुहिक बचत गर्नुपर्छ । भोलि आफैलाई पैसा चाहियो भने पनि बचतबाट सहयोग लिन सकिन्छ । हामीसँग सीप भएको कारणले काम गर्ने आँट आएको छ । सीप भएका सबै जना मिले भने राम्रै आम्दानी गर्न सकिन्छ । यदि सबै जना मिलेमा हामीले अनुदान पनि ल्याउन सकिन्छ । जे होस्, काम गर्ने हो भने अहिले सम्भावना धेरै छ । काम मात्र गरेर पनि भएन, इमानदार पनि हुनुपर्यो । हिसाब किताब पनि राम्रो गरी राख्नु पर्यो ।

