मकवानपुर जिल्लाको हेटौंडामा मेरो जन्म भएको हो । आर्थिक रुपले सम्पन्न परिवार थिएन । तर संख्या भने ठूलो थियो । सात जनाको परिवारमा बा-आमा लगायत हामी पाँच सन्तान थियौँ । त्यसमा म साइँली हुँ । सबैभन्दा ठूलो दाइ हुनुहुन्थ्यो । हेटौंडाकै चौघडाको एउटा स्कुलमा मेरो पढाइ भयो । पढाइ ठिकै भन्नुपर्छ । २०७३ सालमा एसईई दिएकी थिएँ । तर फेल भएँ । फेरि दोहोऱ्याएर पढ्ने इच्छा त थियो, तर घरको अवस्थाले गर्दा मैले दोहोऱ्याएर पढ्न पाइनँ । बरु छोरी मान्छे, छिट्टै बिहे गर्नुपर्छ भनेर घरमा बिहेको कुरा चल्न थाल्यो । जीवनमा के गर्छु भन्ने खासै सोच पनि थिएन । ०७४ सालमा मेरो बिहे भयो । त्यतिबेला म भर्खर १७ वर्षकी थिएँ । कहाँ बिहे भएको ? श्रीमान् के गर्छन् ?
बिहेपछि जीवनको बाटो बदलियो । बुहारी भएपछि घरको काम सँभाल्न परिहाल्यो । त्यसमाथि दुई छोराको जन्म भएपछि अरु केही गर्न सकिएन । पूरा समय घर स्याहार र बच्चा हुर्काउनमै बित्न थाल्यो ।
त्यहीबेला पढाइ छुटेकाहरूले बेलुकी-बेलुकी पढ्न पाइने एउटा कक्षा सञ्चालन भएको कुरा थाहा पाएँ । बहिनीहरू बेलुकी समय मिलाएर जाने गर्थे । त्यो देखेर मलाई पनि पढ्न मन लाग्यो । तर बच्चाको समस्या भयो । घरमा बच्चा हेर्ने कोही थिएन । त्यसैले पढ्छु भनेर मनमा पुनः पलाएको इच्छालाई त्यसै थाती राख्नुपर्यो । अरु पढ्न गएको टुलुटुलु हेरेर म घरमै बसिरहें ।
यसरी नै पन्ध्र वर्ष बित्यो । छोराहरू हुर्कदै गए । तर आफैले केही काम गर्ने मेरो हुटहुटी भने मेटिसकेको थिएन । यसै बीच एक दिन हेटौंडा उपमहानगरपालिकाले सिलाइ सम्बन्धी तालिम दिन लागेको थाहा पाएँ । म त्यो तालिममा सहभागी भएँ । तालिम लिइसकेपछि मैले पनि सिलाइकै काम गर्न थालें । एउटा सिलाई पसलमा काम पाएकी थिएँ । म सामान्य कपडा कटिङ गरेर सिउन सक्ने भएकी थिएँ । तर टेलरिङमा भने मलाई त्यो काम गर्न दिइएन । मलाई हेभिङ मात्रै गर्न दिइन्थ्यो । एउटा ब्लाउज हेभिङ गरेको दुई रुपैया पाइन्थ्यो । एउटा पेटीकोट सिलाएको पाँच रुपैयाँ । महिनाको १५०० जति कमाइ हुन्थ्यो । तर त्यतिले त पुग्दैनथ्यो । त्यसैले अब के गर्ने होला भनेर सोचिरहेकी थिएँ । त्यहीबेला सामुदायिक वनमा तालिम खुलेको खबर सुनें । काठको बुट्टा कुँद्ने, काठका कलात्मक फ्रेमहरू बनाउने तालिम थियो त्यो । म त्यसमा भाग लिन गइहालें । त्यहाँ म जस्तै अरु ६०/७० जना जति सहभागीहरु आउनुभएको थियो । उहाँहरू विभिन्न चार वटा सामुदायिक वनबाट आउनुभएको रहेछ । म चाहिँ पिप्ले सामुदायिक वनको तर्फबाट गएको थिएँ । वन महासंघले चलाएको उक्त कार्यक्रममा काठमाडौंबाट आउनुभएका प्रशिक्षकहरूले तालिम दिनुभएको थियो ।
शुरुमा तालिम कक्षा अत्यन्त अनौठो लागेको थियो । काठमा त्यस्तो बुट्टा कसरी बनाउने होला भनेर सोचिरहेको थिएँ । फ्रेम पनि कसरी बनाएको होला, केले जोडेको होला भन्ने लागिरहेको थियो । त्यहाँ काम गर्न राखिएका ठूल ठूला मेशिनहरू देखेर त झनै अचम्म लागेको थियो । यस्तो मेशिन त म जस्तो महिलाले चलाउन सकिँदैन भन्ने लागेको थियो । केही साथीहरू यो महिलाले गर्न सक्ने काम होइन भनेर छोडेर पनि गए । मलाई पनि यस्तो तालिम नलेऊ भनेका थिए । तर म मानिनँ । काम सिकेरै छोड्छु भनेर लागिरहें । सिक्दै जाँदा त्यो जम्मै आफैले बनाउन सक्ने हुँदै जान थालियो । मेशिन पनि मजाले चलाउन सकियो । छ महिनासम्म चलेको तालिमले मलाई सीप मात्र सिकाएन, आत्मबल पनि बढाइदियो । किनभने तालिमको बीच बीचमा नेतृत्व विकासको पनि कक्षा हुने गर्थ्यो । जम्मा ५० जनालाई दिइएको उक्त तालिमबाट अन्तिममा ३० जना छनौट गर्यो । त्यो ३० मा म पनि परें । हामीलाई आधारभूत तालिमबाट अब एडभान्स तालिम दिइने भयो ।
एडभान्स तालिम पनि राम्ररी नै सम्पन्न गरेँ । त्यो तालिम लिएपछि कामै गर्न सकिने रहेछ । म पनि काम गर्न तम्सिहालें । न्युरिनी सामुदायिक वन र हाम्रो पिप्ले सामुदायिक वन मिलेर साझेदारीमा काम गरौं भन्ने कुरा भयो । साथीहरू तयार भए । काम गर्ने हो भने संस्था दर्ता गर्नुपर्छ भनियो । तर संस्था दर्ता गर्न जाँदा थाहा भयो, दर्ता गर्न लालपूर्जा पनि चाहिने रहेछ । साथीहरू कसैसँग लालपूर्जा थिएन । नाता प्रमाणित गर्ने कसैको भए पनि हुन्छ भन्ने कुरा आयो । त्यसो भए मसँग लालपूर्जा हुन्छ भनें । घरमा सल्लाह गर्दा उद्योग गर्ने हो भने लालपूर्जा राखे हुन्छ भन्ने कुरा भयो । मेरो लालपूर्जा राखेको भएर फर्म मेरै नाममा दर्ता भयो । काम गर्ने साथीहरू जम्मा नौ जना थियौँ । लघु उद्योग सञ्चालन गर्ने भनेर संस्था दर्ता भयो । संस्थाको नाम के हो ? संस्था कहाँ छ ? यो २०७४ सालको कुरा भयो ।
संस्था दर्ता गरेर शुरु मात्रै गरेका थियौँ, कोरोना महामारी शुरु भयो । लकडाउनले गर्दा काम गर्न सकिएन । आम्दानी भएन । आय आर्जन नभएपछि साथीहरू निराश भए । केहीले संस्था छोडे पनि । कोही चाहिँ विवाह गरी अन्तै सर्नुभयो । नौ जनामा चार जना हटे, हामी पाँच जना मात्रै बाँकी रह्यौँ । हामी चाहिँ हरेश नखाई दुःख सहेर भए पनि बसिरह्यौँ । कोरोना हटेपछि विस्तारै हामीले काम शुरु गौँ । पहिले हामी पातलो काठको मात्रै काम गथ्यौँ । पछि मोटो काठको पनि शुरु गौँ । मोटो काठमा काम गर्न हेभी हुन्छ भनिन्थ्यो । तर हामीले त्यो पनि गौँ । हामी काठमाडौंमा भइरहेको कामको अवलोकन गर्न गयौं । साथै गुणस्तरीय काम गर्न अर्को दुई महिने तालिम पनि दिनुभयो । यसले हामीलाई काम मात्र गर्ने होइन, गुणस्तरीय काम गर्न सिकाइदियो । यसपछि हामीले राम्रो, फिनिसिङ सफा भएको र सिधै बजारमा बेच्न सकिने सामानहरू उत्पादन गर्न सक्यौँ । अहिले हामीले बनाएको सामान बजारमा राम्रै गइरहेको छ । हामीले आफ्नो व्यवसायको वेब साइट पनि बनाएका छौँ । त्यहाँबाट पनि अर्डर आइरहन्छ । अर्डर अनुसार काम गर्दा सजिलो हुन्छ । जति बनायो त्यति बिक्री हुने निश्चित भयो । अहिले हामीलाई मोटो काठमा भन्दा पातलो काठमा काम गर्न सजिलो भएको छ । किनभने यसको लागि काठ ल्याउन सजिलो छ । फ्रेम बनाउँदा तौल कम भएर सस्तोमा पाइने भयो । सस्तोमा दिन सकिने भएपछि अर्डर पनि बढ्न थाल्यो । यसले गर्दा साथीहरूको काम पनि बढ्न थाल्यो । अहिले हामी १० जना यसमा नियमितै काम गरिरहेका छौँ । केही साथीहरू घरमै बसेर पिसको आधारमा पनि काम गरिरहेका छन् । अहिले हामी मासिक डेढ सय फ्रेम बनाएर बजारमा पठाउँछौँ । यो हाम्रो लागि राम्रो हो । नगरपालिका, वन कार्यालय जस्ता सरकारी कार्यालयहरूले नेपाली महिलाहरूले बनाएको सामान प्रयोग गर्नुपर्छ भनी हाम्रा सामानहरू किनेर लाने गर्छन् । यो एउटा राम्रो चलन आएको जस्तो लाग्छ । अहिले त काठमाडौंमा पनि हाम्रो सामानको बिक्री बढ्न थालेको छ । हाम्रो सामान सबैभन्दा बढी खपट हुने त हेटौंडामै हो । अहिले पोखरा पनि जान्छ । आफ्नो उत्पादनको मार्केटिङ गर्न अब हामीले एउटा ठूलो टीम बनाउने पनि बिचार गरिरहेका छौं । अहिले हामीले बनाएको फ्रेम र ठेकीको राम्रो बजार छ । ठेकी त एउटैको १५ हजारसम्म आउँछ । हामीलाई चौकोसको अर्डर आइरहेको छ, तर नभ्याएर बनाउन पाएका छैनौँ । अब हामी आफ्नो उत्पादन पनि बढाउने तयारीमा छौं । सामान बजारमा जान थालेपछि हाम्रो आम्दानी पनि बढ्न थालेको छ । अहिले घरभाडा १५ हजार तिरेर हामी काम गर्ने पाँच जनाको खर्च कटाउँदा पनि पैसा बच्न थालेको छ । त्यो हाम्रो आम्दानी नै भयो । हिजो हामी काम नभएर खाली बस्ने गथ्यौं । अहिले काम गरेर अरुलाई समेत सानोतिनो काम दिन सक्ने भएका छौँ । सामुदायिक वनले हामीलाई एउटा कोठा पनि दिएको छ । वार्षिक १५ लाख जति आम्दानी हुन्छ । दश जना नियमित रुपमै काम गर्नेहरू छन् । सबैले मासिक २५ देखि ३० हजार कमाउँछन् । १५ हजारभन्दा कम कसैको छैन । हामी पाँच जनाले लगानी पनि गरेकाले थप आम्दानी पनि बराबरी बाँड्ौँ । काम गर्ने मान्छे नपुगेर अरुलाई पनि बोलाइरहेका छौँ । तर श्रीमान्ले पठाएन भनेर आउन मानिरहेका छैनन् । हामी उनीहरूको घर घरमा गएर श्रीमानलाई समेत सम्झाइ बुझाइ गरिरहेका छौँ । सकिन्छ भने हाम्रो कार्यालयमै आएर काम गर्ने, सकिँदैन भने घरमै बसेर पिसको आधारमा काम गर्ने । महिलाहरूलाई घरमा बसेर पनि कमाउन सक्ने बनाएका छौं ।
यो काममा लागेपछि हामीले कमाउने मात्र होइन, अरु पनि विभिन्न कुराहरू सिक्ने अवसर पाएका छौँ । वनको महत्व, वातावरणको महत्व हामीले बुझ्न पायौँ । चार जना मान्छेको सामु उभिएर बोल्ने र आफ्नो कुरा राख्न सक्ने भएका छौ । वनमा खेर जाने काठलाई पनि बुट्टा कुँदेर उपयोगी बनाउने र त्यसबाट आय आर्जन गर्न सकिने रहेछ भन्ने कुरा बुझ्यौँ । हामी अहिले समय समयमा वन जान्छौँ र बोटविरुवाको हेरचाह गछौँ । वनलाई सुरक्षित गौँ भने वनले पनि हाम्रो सुरक्षा गर्दो रहेछ । वनमा खेर जाने काठमा बुट्टा कुँदेर हस्तकलाको काम गर्ने भनेपछि अहिले हामीलाई बाहिर समेत चिन्नेहरू छन् । यसबाट हामीले स्याबासी पनि पाइरहेका छौँ ।
घर चलाउन महिलाको पनि ठूलो भूमिका हुन्छ भन्ने कुरा अब हामीले बुझ्न थालेका छौँ । महिला पनि सबल र स्वतन्त्र हुने हो भने उसले पनि आय आर्जन गर्नुपर्छ । सधैं अरुको भर पर्नु हुँदैन । बिहान उठेदेखि नै विभिन्न खर्च शुरु हुन थाल्छ । दूध किन्न, तरकारी किन्न, बच्चाहरूलाई स्कुल पठाउन पैसा चाहिन्छ । यस्ता सानो सानो खर्चहरू महिला आफैले जोहो गर्न सकियो भने अरुसँग मागिरहनु परेन । हामीले आफ्नो बचतको पूरा हिसाब पनि राखेका छौँ । यति भयो भने कसैप्रति निर्भर हुनु परेन । महिला सशक्तीकरण भनेको यही हो कि जस्तो लाग्छ ।

