निःशुल्क पाइने तितेपातीबाट साबुन उत्पादन

मकवानपुरको मनोहरी गाउँपालिका वडा नं. ४ मा घर भए पनि मेरो माइती भने नवलपरासी जिल्ला हो । मेरो श्रीमान अनिल वनकरिया यही ठाउँका स्थानीय वनकरिया समुदायका हुनुहुन्छ । म भने नवलपरासीको मगर समुदायबाट आएकी हुँ। तीन वर्ष अघि हाम्रो प्रेम विवाह भएको हो । फेसबुकमा उहाँसँग परिचय भएको थियो । मेसेन्जरमा कुराकानी गर्दागर्दै हाम्रो प्रेम बस्यो । मलाई उहाँ एकदम इमान्दार र मेहनती लाग्छ । त्यही भएर उहाँसँग भागेर आएकी हुँ। विवाह अघिसम्म मलाई यो वनकरिया समुदायबारे केही जानकारी थिएन । वनको छेउछाउ बस्ने र वनसँग सम्बन्धित समुदाय भएकोले वनकरिया भएको रहेछ । यताका वनकरियाहरू मध्ये सबैभन्दा बढी पढेकै मेरो श्रीमान् हुनुहुन्छ । उहाँले बाह्र कक्षासम्म पढ्नुभएको छ । घरमा पाँच नन्द हुनुहुन्छ । कुल नौ जनाको परिवार छ । मैले भने कक्षा सातसम्म मात्रै पढेकी छु । नवलपरासीको सर्दीसुनाइ गाउँमा बुबा तुलसीराम चिली मगर र आमा शान्ति चिली मगरबाट मेरो जन्म भएको हो । मेरा दुई भाइ छन् । घर छेउमै जंगल भएकोले वनजंगलसँग सानैदेखि परिचित थिएँ । सानोमा हामी साथीहरू तितेपातीको पानी छर्केर खेल्ने गथ्यौँ । संयोग पनि कस्तो, अहिले त्यही तितेपातीको साबुन बनाउने काम गरिरहेकीछु । हामी बच्चैदेखि पूजा तथा उपचारको लागि तितेपाती प्रयोग गछौँ । गाउँकी भाउजु गर्भवती हुँदा, मान्छे जन्मदा र मर्दा पनि तितेपाती प्रयोग गरी चोख्याइएको थियो । तर तितेपातीलाई साबुन बनाएर बेच्न पनि सकिन्छ भन्ने कुरा भने मैले यहीं आएर मात्र थाहा पाएँ । मेरो सामान्य पढाइ नवलपरासीकै सृजना कल्याण प्राथमिक विद्यालयमा भएको थियो । त्यहाँ कक्षा ५ सम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछिको पढाइ गर्न अर्को वडा जानु पर्थ्यो। स्कुल पुग्न दुइटा खोला तर्नुपर्ने । एउटा सुनाइ खोला, अर्को खोरोनी खोला । एकपटक स्कुल जाँदा मलाई खोलाले बगायो । धन्य साथीले बचाइदियो । पढ्न समेत ज्यान जोखिममा राखेर जानुपर्ने अवस्था थियो । एकातिर स्कुल पुग्न गाह्रो, अर्कोतिर घरमा आमालाई पनि सघाउनुपर्ने भएपछि मैले बीचमै पढाइ छोडें । तर पढाइ नभए पनि सीप चाहिँ सिक्नुपर्छ भनेर मैले सिलाइको काम सिकें । श्रीमानसँग भागेर आउँदा घरमा कसैलाई भनेकी थिइनँ । त्यतिबेला रुकुममा विवाहकै कुरामा जात मिलेन भनेर मान्छे मारेर बबाल मचिरहेको थियो । त्यस्तो अवस्थामा चिन्नु न जान्नु मान्छेसँग भागेर आएकी भनेर मलाई अहिले पनि यता सासूहरू ‘जब्बरकी बुहारी’ भन्नुहुन्छ । घरमा भने म त्यसरी भागेर गएकोमा आमा र बुबा खुबै रुनुभएको रहेछ । यदि मैले भनेकी भए राम्रै गरी बिहे गराइदिन्थ्यौँ भन्नुहुन्थ्यो । २०७७ चैत २२ गते हाम्रो विवाह भएको थियो । यहाँ आए पछि म घरकै खेतीपाती, कृषि, कुखुरा पालन जस्तो काममा व्यस्त हुन थालें । माइतीबाटै सिकेर आएको सिलाइको काम पनि अलि अलि गर्न थालें । २०८० सालमा गाउँपालिकाको अनुदान लिई तितेपातीको साबुन बनाउने तालिम दिने भन्ने कुरा आयो । तितेपातीबाट साबुन बनाउने भनेपछि मलाई अचम्म लाग्यो । तितेपातीसँग त म बच्चैदेखि खेल्दै आएकी हुँ । अब त्यसैबाट साबुन बनाएर बेच्ने भनेपछि मेरो ध्यान तान्यो । म तालिम लिन गएँ । तालिमका लागि काठमाडौंबाट प्रशिक्षकहरू आउनुभएको थियो । दुई महिना तालिम चल्यो । त्यसमा हामीलाई तितेपाती कसरी काट्ने, मिक्स्चरमा कसरी राख्ने भन्ने सीप सिकाइएको थियो । तितेपाती, निमपत्ता, घिउ कुमारीबाट राम्रो गुणस्तरको साबुन बनाउन सकिने रहेछ । यी कुराहरू गाउँघरमा जहाँ पनि पाउन सकिन्छ । यसबाट बनाइएको साबुन अर्गानिक हुने रहेछ । अचेल अर्गानिक भनेपछि मान्छेले किनिहाल्छन् । त्यस्तो साबुनमा कुनै पनि रसायन मिसाउन नहुने कुरा हामीलाई सिकाइएको थियो । तालिम लिइसकेपछि हामीले एउटा समूह बनायौँ वनकरिया तथा चेपाङ महिला साबुन उद्योग । त्यसमा २५ जना महिला थियौँ । त्यसमा पनि पाँच पाँच जनाको पाँच वटा समूह बनायौँ । त्यसमा एउटा समूहले तितेपाती टिप्ने, अर्कोले पखाल्ने, अर्कोले मिक्स्चरमा कुट्ने गरी काम बाँड्यौँ । हामीले बनाउने साबुनमा निम, घिउ कुमारी जस्ता वनस्पति मात्रै हुन्छ । बोसो पटक्कै हुँदैन । त्यसैले हाम्रो साबुन प्रयोग गर्दा छाला चिलाउने हुँदैन । धमरा छ भने निको भएर जान्छ । साबुन बनाउँदा त्यसको नापतौल वजन एकदम ठीक हुनुपर्दछ । बनाउने सामग्री धेरै नभएकोले हामी एकै चोटी धेरै वटा बनाउन सक्दैनौँ । हामीलाई एउटा साबुन बेचे वापत ७ रुपैयाँ जति नाफा हुन्थ्यो । हाम्रो सामान किन्न ग्रीन फाउण्डेसन नामक संस्थाले सहयोग गरेको थियो । हामी महिलाहरूको छुट्टै अफिस त छैन । तर अफिस नभए पनि दिनभरि साबुन बनाउन भने पाउँदैनौँ । दिनको तीन घन्टा जति मात्रै हामीले काम गर्न पाउँछौँ । काममा आउनु अघि घरको सबै काम सकाएर आउनुपर्छ । खाना पकाउ, पानी लिने, बच्चाहरूलाई स्कुल पठाउने । ३ बजे पछि फेरि दौडेर फर्किनु पर्छ । गाईवस्तुलाई ख्वाउने बेला हुन्छ, बच्चाहरू स्कुलबाट फर्कन लागेका हुन्छ । अनि हतारमा फेरि दौडिनु पर्यो । घरको काम भ्याएर मात्रै साबुन बनाउने काम गर्ने हो । दुवैतिर भ्याउन गाह्रो छ । तर पनि समस्या के छ भने, यति काम गर्दा पनि हामीले समयमै ज्याला पाउँदैनौँ । आफ्नै मेहनतको फल पाउन पनि गाह्रो छ । साथीहरू टाढा टाढादेखि काम गर्न आउनुहुन्छ । तर ज्याला नपाएपछि आउन सक्नुहुन्न । हामीसँग यो बाहेक अर्को पैसा आउने कुनै बाटो छैन । त्यसैले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । साबुन बनाउने काम सजिलो छैन । हामी महिलाहरूलाई त झन् घरबाट बाहिर आएर काम गर्ने पनि समस्या छ । बिहान बेलुका बालबच्चालाई खाना बनाएर, खुवाएर, बाँकी घरको काम छाडेर आएका हुन्छौँ । कति मिहिनेतले तितेपाती खोज्न जान्छौँ, टिपेर ल्याएपछि कुटेर पिसेर बनाउँछौ । त्यसको साबुन बनाउँछौ । तर बनाइसकेपछि कहाँ लगेर बेच्ने हो, हामीलाई थाहा हुँदैन । बेच्ने जिम्मा अरुकै हुन्छ । तर बेच्न लगे पनि त्यसको दाम भने फिर्ता आउँदैन । यसले हामी महिलाको उत्थान हुन सक्दैन । साबुन बनाउन जाने पछि हाम्रो दैनिक जीवनमा केही परिवर्तन भने अवश्य आएको छ । हामी महिलाहरू अरु बेला पनि घरमा सागपातबाट गुन्द्रुक बनाउने काम गछौँ । त्यसको सट्टा अब मान्छेले वास्ता नगर्ने घिउकुमारी, निमको पात, तितेपाती जस्ता वनस्पतिबाट साबुन बनाउने काम गर्न थालेका छौं । जंगलमा निःशुल्क पाइने यस्ता वस्तुबाट आम्दानी पनि गर्न सकिने रहेछ । समय छैन भने घरमै बसेर पनि यो काम गर्न सकिन्छ । यसको तालिम लिएपछि घरमै बसेर आम्दानी गर्ने, मालिक बन्ने र घर चलाउने जाँगर आएको छ । साबुन बनाउने काम अझ बढाउन पाएको भए र काम अनुसार ज्याला पाएको भए यसले धेरैको उद्धार हुनसक्ने सम्भावना देखेकी छु । हाम्रोभन्दा बरु काष्ठकलामा लागेका साथीहरूको काम र दाम दुवै राम्रो भएको देख्छु । त्यस्तै अवस्था हाम्रो तितेपातीको साबुन उत्पादनमा पनि ल्याउनु परेको छ । व्यवसाय गर्दा खाली काम मात्रै राम्ररी गरेर पुग्दैन, व्यवस्थापन पनि त्यतिकै राम्ररी गर्नुपर्ने रहेछ । यदि राम्रो ठाउँ भेटियो, सामानहरू पुऱ्यायो भने जति भन्यो त्यति नै साबुन उत्पादन गर्न सक्ने क्षमता हामीसँग छ । यसमा अब के गर्ने हो कसैले सोच्नुपर्ने देखिन्छ । यो तालिम लिइसकेपछि हामीले मनग्गे आम्दानी गर्न नसके पनि चार जना मान्छे सामु निर्धक्क बोल्न सक्ने क्षमता भने विकास भएको छ । अब गाउँमा तालिम हुँदा को को आउँछ, के के गर्छ, तलब भत्ता के के गर्छ भनेर जान्न बुझ्न सक्ने पनि भएका छौँ । वनकरिया समुदाय पहिले त कोहीसँग पनि बोल्दैन थिए । अहिले बोल्न थालेको छ ।